७ मंसिर, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा कुल ६ वटा परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी परियोजनासम्बन्धी कार्यक्रम सम्पन्न भएका हुन्। प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्।
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने यो आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ। आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो।
यसैक्रममा बनबासा सुक्खा बन्दरगाहको पनि शिलान्यास गरिएको छ। त्यस्तै, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र झापामा निर्माण हुने टर्मिनलको समेत शिलान्यास गरिएको छ।
दुई प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण गरेका छन्। त्यसैगरी, धार्चुला–दार्चुला पक्की पुलको उद्घाटन गरिएको छ।
भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने सरयु–कमला एक्स्प्रेस रेल सेवाको पनि उद्घाटन गरिएको छ। रामायण सर्किट परियोजनाअन्तर्गत सञ्चालनमा ल्याइएको यस रेल सेवाले नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेल सम्पर्कमा जोडेको छ।
अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुर जाने रेललाई बिदाइ गरेका थिए।
यसअघि भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको थियो।
करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन र सीमापार आवागमनलाई थप सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।
भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ। रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
त्यस्तै, प्रत्येक सोमबार साँझ ५:५० बजे रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट छुटेर जनकपुरधाम आउनेछ।
६०४ किलोमिटर लामो यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ।



