काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

Advertisement

९ मंसिर, काठमाडौं — काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि निर्माण गर्न लागेको विशेष विद्यालय भवनको शिलान्यास गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकाल, अन्य जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवनको शिलान्यास गरेकी हुन्।

शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले सबै बालबालिकाले समान रूपमा शिक्षा हासिल गर्न र आफ्ना अधिकार उपभोग गर्न पाउनुपर्ने बताइन्। अटिजम वा शारीरिक अपांगताका कारण कुनै पनि बालबालिका शिक्षालगायतका अधिकारबाट वञ्चित हुन नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

‘हरेक बालबालिकाले पढ्न, खेल्न, अवसर प्राप्त गर्न र सम्मानपूर्वक बाँच्न पाउने समान अधिकार छ। तर, अटिजम वा शारीरिक अपांगताका कारण शिक्षाबाट वञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छन्,’ डंगोलले भनिन्, ‘अटिजमलगायत बौद्धिक र शारीरिक अपांगता यसका बाधक हुनुहुँदैन भन्ने हाम्रो परिकल्पनाको सहर काठमाडौं हो।’

काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकलाई सहयोग र सेवाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले निर्माण हुन लागेको भवन बहुउपयोगी हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार यो संरचना अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावकलाई सहयोग पुर्‍याउन उपयोगी हुनेछ।

‘देशको हरेक कुनाकाप्चामा यो अधिकार प्राप्त गर्न भौतिक पूर्वाधारदेखि आवश्यक सबै व्यवस्था होस् भन्ने हाम्रो साझा सपना छ,’ डंगोलले भनिन्, ‘आज ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ को शिलान्यास गर्नुको अर्थ भवनको मात्र शिलान्यास होइन, हामी सबैले कल्पना गरेको मानवता र करुणाको सहर निर्माणमा एउटा इँटा थप्नु हो।’

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले डिजाइन गरेको भवन वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ ४५०.८० वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ। भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट हुनेछ। यसको चौडाइ पूर्वतर्फ ३५ फिट र पश्चिमतर्फ २२ फिट रहनेछ।

१७ मिटर उचाइको पाँचतले भवनका प्रत्येक तलाको क्षेत्रफल ३ हजार वर्गफिट हुनेछ। त्यस्तै, ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवनको कुल क्षेत्रफल १८ हजार ५ सय वर्गफिट हुनेछ। भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

भवनको भुइँतलामा मुख्य प्रवेशद्वार, बालबालिका खेल्ने खुला क्षेत्र, भर्‍याङ र लिफ्ट रहनेछन्। पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष, चौथो तलामा प्रशासन तथा अनुसन्धान कक्ष र पाँचौँ तलामा बार्दली निर्माण गरिनेछ।

भवनमा आठ जना क्षमताको लिफ्ट जडान गरिनेछ भने शौचालय तथा कोठाहरू पनि पहुँचयुक्त बनाइनेछन्।

भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको महानगरले जनाएको छ।

निर्माण पक्षलाई २०८३ मंसिर ३ गते नै कार्यादेश दिइसकिएको छ। सम्झौताअनुसार २०८४ चैत मसान्तभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

बालश्रम नियन्त्रण गर्न कानुनसँगै गरिबी र बेरोजगारी सम्बोधन गर्नुपर्नेमा जोड

बालश्रम नियन्त्रण गर्न कानुनसँगै गरिबी र बेरोजगारी सम्बोधन गर्नुपर्नेमा जोड

९ मंसिर, काठमाडौं — बालश्रमसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको ...
काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

काठमाडौं महानगरले अटिजम विद्यालय भवन निर्माण सुरु गर्दै

९ मंसिर, काठमाडौं — काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि निर्माण गर्न लागेको विशेष विद्यालय भवनको श...

Miten kierrätysvaatimukset ja bonusehdot pikapeleissä vaikuttavat kotiutuksiin

Miten kierrätysvaatimukset ja bonusehdot pikapeleissä vaikuttavat kotiutuksiin Olen aina pitänyt nettipelaamista hieman monimutka...

Opi pelikassan järkevä hallinta aloittelijana vältä kalliit virheet

Pelikasvojen Hallinta: Aloittelijan Pelastusohje Moni aloittelija tekee sen virheen — panostaa liikaa, liian nopeasti, ilman suun...