२२ असोज, काठमाडौं – सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हालै एक वक्तव्य जारी गर्दै कृत्रिम न्युरल नेटवर्कमा अनुसन्धान गरेका अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।
उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कमा मसिन लर्निङ इनेबल गराउने आधारभूत आविष्कार र खोजका लागि’ यो पुरस्कार दिइने भएको हो । सन् १९७० को अन्त्यतिर र १९८० को सुरुतिर प्रारम्भ गरिएको यो अध्ययनले एआईको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।
जोन जे होपफिल्ड प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक हुन् । उनले ‘हपफिल्ड नेटवर्क’को विकास गरेका थिए, जसले न्युरल नेटवर्कले कसरी तस्बिर र सम्झनाहरू भण्डारण र पुन: प्राप्त गर्न सक्छ भन्ने देखाउँछ । यस मोडेलले मानव मष्तिष्कको स्मरण क्षमताको नक्कल गरेको थियो ।
त्यस्तै, जियोफ्री ई हिल्टनलाई ‘डीप लर्निङको गडफादर’ भनेर पनि चिनिन्छ । सन् १९७८ मा एआईमा विद्यावारिधि प्राप्त गरेका हिल्टनले ‘ब्याकप्रोपोगेसन एल्गोरिदम’को विकास गरेका थिए, जसलाई उनको महत्त्वपूर्ण आविष्कार मध्येको एक मानिन्छ ।
यसले न्युरल नेटवर्कलाई आफ्ना गल्तीबाट सिक्न सघाउँछ । हिन्टन सन् २०१३ मा गुगलसँग आबद्ध भए पनि एआईले गलत सूचना फैलाउने जोखिम देखाउँदै सन् २०२३ मा गुगल छाडेका थिए । हाल उनी टोरन्टो विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत छन् ।
नोबेल पुरस्कारको राशि एक करोड १० लाख स्वीडिश क्रोनर (१० लाख अमेरिकी डलर) छ । विजेताहरूलाई आगामी डिसेम्बर १० मा भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।