१० मंसिर, काठमाडौं — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुआती दुई दिनमा सहआयोजक कर्णाली प्रदेशको प्रदर्शन निराशाजनक देखिएको छ । फुटबल, महिला क्रिकेट र महिला बास्केटबलमा पराजित कर्णाली पौडीमा पनि पदकविहीन छ ।
मंगलबार (मंसिर ८)देखि सुरु प्रतियोगितामा ३२ मध्ये पाँच विधाका खेल भइरहँदा कर्णालीले प्रभाव जमाउन सकेको छैन । टेनिसमा भने कर्णाली सहभागी छैन ।
पुरुष फुटबलको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग २–० ले पराजित भयो । पुलिसको जितमा धीरेन्द्र शाहले ३६औँ र सुजन मगरले ४६औँ मिनेटमा गोल गरे । कर्णालीले बिहीबार गण्डकीसँग खेल्दै छ ।
महिला क्रिकेटमा कर्णाली कोसी प्रदेशसँग ४९ रनले हार्यो । कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा कोसीले १२५ रन बनाएको थियो । जवाफमा कर्णाली ७६ रनमै अलआउट भयो ।
महिला फुलकोर्ट बास्केटबलमा कर्णाली पुलिस क्लबसँग ५२–१९ ले पराजित भयो । पहिलो क्वाटरमा ८–० को अग्रता बनाए पनि कर्णालीले त्यसलाई कायम राख्न सकेन । बिहीबार कर्णालीले फुलकोर्टमा एपीएफ र थ्री अन थ्रीमा मधेस प्रदेशसँग प्रतिस्पर्धा गर्दै छ ।
बाँकेमा भइरहेको पौडी प्रतिस्पर्धामा पनि कर्णालीले पदक जित्न सकेको छैन ।
दुई दिनको प्रतिस्पर्धामा वाग्मती प्रदेशले नौ स्वर्ण, चार रजत र ६ कांस्यसहित १९ पदक जितेको छ । पुलिसले तीन स्वर्ण, सात रजत र आठ कांस्य र त्रिभुवन आर्मी क्लबले दुई स्वर्ण, आठ रजत र आठ कांस्यसहित समान १८ पदक जितेका छन् ।
वाग्मती, पुलिस र आर्मीले सुरुआती खेलमै बलियो प्रदर्शन गरेका छन् । राष्ट्रियस्तरको प्रतिस्पर्धामा घरेलु मैदान र दर्शकको साथ मात्र पर्याप्त नहुने कर्णालीको सुरुआती नतिजाले देखाएको छ ।



