१० मंसिर, काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिसडोलको फोहोर दैनिक तीन हजार किलोका दरले हटाउने गरी काम सुरु गर्ने योजना रहेको बताएका छन्।
बिहीबार टेकुस्थित बायोमिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापनको विषय राजनीतिक मुद्दाभन्दा ठूलो रहेको बताए।
उनले काठमाडौं महानगरपालिकाले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
‘बञ्चरेडाँडामा फोहोरलाई यो पटक हामी दैनिक तीन हजार किलो हटाउँदैछौँ। विस्तारै यसलाई विस्तार गर्दै एक दिन काठमाडौं महानगरपालिकाले आफ्नो एक किलो फोहोर पनि कुनै ल्यान्डफिल साइटमा लगेर प्रदूषण गर्दैन भन्ने सपना हामी पनि देख्न सक्छौँ,’ मन्त्री श्रेष्ठले भने।
सरकारको ‘एलपीजीमुक्त स्थानीय सरकार’ बनाउने उद्देश्य पूरा गर्न पनि यो काम सहयोगी हुने उनको भनाइ छ। यसका लागि नीतिगत अस्पष्टता रहे पनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने उनले बताए।
‘एलपीजीमुक्त स्थानीय तह घोषणा गर्दा एकैपटक त हुँदैन। तर, सुरुआत कहीँबाट भयो भने यो कार्यक्रमले त्यसलाई सम्बोधन गर्नेछ। यसमा आमनागरिकमा जनचेतना अभिवृद्धि र सक्रियता आवश्यक छ। घरबाटै फोहोर वर्गीकरणका लागि काठमाडौं महानगरपालिकाले केही कार्यक्रम ल्याउनैपर्छ,’ उनले भने।
मन्त्री श्रेष्ठले अन्तरस्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढ्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे।
महानगरपालिकाले अघि सारेका तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको उनले बताए। काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन हुने अनुमान गरिए पनि अहिले उपकरण बिग्रिएकाले तत्काल उत्पादन सम्भव नभएको उनको भनाइ छ। विद्युत् उत्पादनका लागि उपकरण मर्मत गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए।



