१० मंसिर, काठमाडौं — काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरेकी छन्। चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागतमा निर्माण हुने पुल आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या (बेड) समेत ओसारपसार गर्न मिल्ने लिफ्ट जडान गरिनेछ।
अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने बाध्यता छ। पुल र लिफ्ट सञ्चालनमा आएपछि यो समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्याङसमेत निर्माण गरिनेछ।



