६ वैशाख, काठमाडौं — सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरेको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिनसम्म भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउने अभियान सुरु गरेको स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले जानकारी दिएका छन्।
उनका अनुसार यस कार्यक्रममार्फत छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइनेछ।
कार्यक्रम सञ्चालनका लागि स्थानीय तहहरूले विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। यस अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
चिकित्सकका अनुसार भिटामिन ‘ए’ ले आँखाको दृष्टि सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा बालबालिकाको समुचित वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, जुकाको औषधिले पेटका किरा नष्ट गर्नुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्याबाट जोगाउन मद्दत गर्छ।
भिटामिन ‘ए’ को कमी रोकथाम तथा उपचारका लागि विसं २०५० सालमा आठ जिल्लाबाट सुरु गरिएको यो कार्यक्रम विसं २०५९ देखि देशभर लागू गरिएको हो।
त्यसैगरी, जुकाको संक्रमण नियन्त्रण गर्न विसं २०५६ मा १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम विसं २०६७ देखि देशभर विस्तार गरिएको थियो।
हरेक आर्थिक वर्षको कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रूपमा खुवाउने व्यवस्था गरिएको छ।



