काठमाडौं, असार ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। बन्द सत्र निर्धारित समयमै सुरु हुन नसकेपछि महाधिवेशन एक दिनसम्म लम्बिन सक्ने संकेत पार्टी नेतृत्वले दिएको छ।
रास्वपा प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै बन्द सत्र ढिलो सुरु भए पनि त्यसलाई अस्वाभाविक रूपमा नलिएको बताए। उनका अनुसार महाधिवेशनको अवधि आवश्यक परे एक दिन थपिन सक्ने सम्भावनाबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमै छलफल भइसकेको थियो।
‘विभिन्न कारणले कार्यतालिकामा केही परिवर्तन आउन सक्छ भन्ने अनुमान पहिले नै गरेका थियौं। त्यसैले महाधिवेशन एक दिन लम्बिन सक्ने अवस्थाका लागि हामी मानसिक रूपमा तयार छौं,’ उनले भने।
झाले महाधिवेशन प्रतिनिधिको संख्या पनि प्रारम्भिक अनुमानभन्दा बढेको जानकारी दिए। उनका अनुसार सोमबार बिहानसम्म करिब ४ हजार ३०० प्रतिनिधि दर्ता भएको विवरण प्राप्त भएको छ।
उनले मधेश प्रदेशबाट आउने केही प्रतिनिधिको नामावली अझै समावेश हुन बाँकी रहेको बताए। छुटेका प्रतिनिधिलाई पनि सहभागी गराउन छुट्टै टोलीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै उनले बन्द सत्र सुरु गर्ने तयारीसँगै प्रतिनिधि सूचीलाई अन्तिम रूप दिने काम जारी रहेको बताए।



