काठमाडौं, असार ८ — पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलप्रति नेपाली कांग्रेसका नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा पार्टीका सभापति गगन थापाले कांग्रेसको झन्डा ओढाएर सम्मान व्यक्त गरे। श्रद्धाञ्जली कार्यक्रममा उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेताहरू पनि सहभागी भएका थिए।
८० वर्षीय खरेलको आइतबार राति उपचारका क्रममा निधन भएको हो। श्वासप्रश्वाससम्बन्धी समस्याका कारण उनी बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत थिए।
खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहानदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। उनको अन्त्येष्टि आज दिउँसो १ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम तय गरिएको छ।



