‘३ लाख नदिए विदेश जान पाउँदैनौ’ भन्दै दबाब दिने एजेन्ट पक्राउ

३ जेठ, काठमाडौं — सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको उडान वैशाख २९ गते तय गरिएको थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकट’ नीतिअनुसार म्यानपावर कम्पनीलाई प्रक्रिया शुल्कबापत बढीमा १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था भए पनि अजयले यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाइसकेका थिए ।

तर कोटेश्वरस्थित ‘ग्रान्ड स्वीट जब’ नामक म्यानपावर कम्पनीले ‘३ लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम नलिने’ बताएपछि उनी मलेसिया जानबाट रोकिए । रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको भए पनि मागिएको रकम तिर्न नसक्दा अजयको वैदेशिक रोजगारीको सपना रोकियो ।

पछि म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ बुझाए जेठ ३ गते उडाइदिने बताएपछि अजयले रकमको व्यवस्था गरे । त्यसपछि उनी नाइट बस चढेर शनिबार बिहान काठमाडौं आइपुगे ।

शनिबार बिहान म्यानपावरका एक कर्मचारीले अजयलाई फोन गरी पासपोर्ट र अन्य कागजात आफूसँग रहेको भन्दै तीनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प अगाडि पैसा लिएर आउन भने ।

त्यसअघि नै अजयले आफूले भोगेको समस्याबारे युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको सचिवालयलाई जानकारी गराइसकेका थिए । अजय श्रममन्त्री रामजी यादवकै निर्वाचन क्षेत्रका मतदाता हुन् ।

अजयको समस्या समाधानका लागि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव आफैं सक्रिय भए । उनी केही सञ्चारकर्मी र प्रहरी अधिकारीहरूसँग तीनकुनेस्थित प्रहरी वृत्त पुगे र अजय तथा म्यानपावरका कर्मचारी भेट्ने स्थानमा पुगे ।

म्यानपावरको भिसा शाखामा काम गर्ने बताउने कर्मचारीले सुरुमा अजयसँग पैसा मागे । अजयले भने पासपोर्ट र अन्य कागजात पाएपछि मात्र पैसा दिने बताए । त्यसपछि केही समय विवाद भयो र प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लियो ।

‘फ्रि भिसा फ्रि टिकट’ नीतिअनुसार १० हजार रुपैयाँमा हुने कामका लागि ३ लाख रुपैयाँ मागिएको स्वीकार गरेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको थियो ।

प्रहरीले पक्राउ परेका कर्मचारीसँग चारवटा पासपोर्ट, हवाई टिकट र अन्य महत्वपूर्ण कागजात समेत फेला पारेको जनाएको छ । उनी चार जनाबाट रकम लिएर कागजात दिने तयारीमा रहेको आशंका गरिएको छ ।

श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको नाममा सोझा कामदारलाई ठगी गर्ने र ‘फ्रि भिसा फ्रि टिकट’ नियम उल्लंघन गरी ठूलो रकम असुल्ने गतिविधि अझै भइरहेका छन् भन्ने यो घटनाले देखाएको छ ।

श्रममन्त्री यादवका स्वकीय सचिव सरोज यादवले गैरीगाउँमा एक नेपाली नागरिक ठगिनबाट जोगाइएको भन्दै सहयोग गर्ने प्रहरी अधिकारीलाई धन्यवाद दिएका छन् ।

अजय मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए । उनले म्यानपावरको झापास्थित शाखाबाट सम्पूर्ण प्रक्रिया पूरा गरेका थिए ।

सरकारले तोकेको शुल्क १० हजार रुपैयाँ मात्र भए पनि म्यानपावरले उनीसँग ३ लाख १० हजार रुपैयाँ मागेको थियो । सुरुमा १० हजार रुपैयाँ छुट दिने भन्दै ३ लाख रुपैयाँमा सहमति गरिएको थियो ।

पीडित अजयले टिकट र अन्य प्रक्रियाका नाममा यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर बाँकी रकम नबुझाएसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै कम्पनीले ती कागजात रोकेको आरोप छ ।

पक्राउ परेका एजेन्टले सुरुमा पैसा लिएर मात्र कागजात दिन लागेको बताएका थिए । तर प्रहरीले ‘फ्रि भिसा फ्रि टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागियो ?’ भन्ने प्रश्न गरेपछि उनी मौन बनेका थिए ।

प्रहरीको सक्रियतापछि अजयको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गराइएको छ । यससँगै उनी आइतबार मलेसिया जान पाउने सुनिश्चित भएको छ ।

अजयले खुसी व्यक्त गर्दै भने, “सुरुमा पैसा लाग्दैन भनियो । अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भनेका थिए । तर भिसा आएपछि ३ लाख रुपैयाँ नदिए जान नपाइने भन्दै दबाब दिन थाले । गरिबले ऋण गरेर पैसा जुटाउनुपर्ने अवस्था छ । यस्तो गर्नेहरूमाथि कडा कारबाही हुनुपर्छ ।”

श्रममन्त्रीको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै समस्या परे सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । पक्राउ परेका एजेन्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिको माग

१५ साउन, काठमाडौं — सुनसरी घटनाको विषयलाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको उपस्थितिको मा...
प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

प्रधानमन्त्रीलाई मधेशका नेताहरूको सुझाव– ‘सम्झौता कार्यान्वयन गर्नुस्, रद्दीको टोकरीमा नफाल्नुस्’

१५ साउन, काठमाडौं — मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले सरकारले गरेका सम्झौताहरू कार्यान्वयन गर्न आग्रह गर्दै ती सम्झौताहरू विग...
मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...