काठमाडौंमा राजावादी प्रदर्शनको क्रममा हिंसात्मक घटना, राजनीतिक दलहरूको कडा आपत्ति

१६ चैत, काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका छन्। प्रदर्शनका क्रममा मिडिया हाउस, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, सपिङ मल, सार्वजनिक सवारीसाधन तथा सर्वसाधारणका घरमा आक्रमण भएको छ। यस घटनाप्रति प्रमुख राजनीतिक दलहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

राजनीतिक दलहरूको एकस्वरमा भर्त्सना

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले विज्ञप्ति जारी गर्दै प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधिलाई गम्भीर रूपमा लिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनको नाममा भएको हिंसा निन्दनीय भएको बताएका छन्। उनीहरूले व्यक्तिको निजी सम्पत्ति, सञ्चारगृह, सरकारी तथा व्यावसायिक भवनमाथि आक्रमण हुनु अराजकताको चरम रूप भएको उल्लेख गर्दै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन्।

कांग्रेसको विज्ञप्तिमा भनिएको , संविधानप्रदत्त विरोध तथा शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई हामी सम्मान गर्छौं। तर, तीनकुने लगायत विभिन्न स्थानमा हिंसा, आगजनी तोडफोड हुनु अत्यन्तै दुर्भाग्यपूर्ण छ। लोकतन्त्रको विकल्प अझ सशक्त लोकतन्त्र हो, कुनै पनि प्रकारको राजतन्त्र २१औं शताब्दीको सचेत नेपाली जनताका लागि स्वीकार्य हुन सक्दैन।

नेकपा एमालेले पनि घटनाप्रति कडा आपत्ति जनाउँदै सुरक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनको नाममा गरिएको अराजकता, तोडफोड, आगजनी तथा लुटपाटलाई एमाले गम्भीर रूपमा लिन्छ। लोकतान्त्रिक गणतन्त्र संविधानको रक्षाका लागि हामी दृढ छौं। हिंसा भड्काउने तत्वहरूलाई कानुनी दायरामा ल्याउनु अपरिहार्य छ।

त्यस्तै, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति निन्दा व्यक्त गरेका छन्। उनीहरूले सरकारलाई दोषीमाथि कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

संविधान लोकतन्त्रको पक्षमा दलहरूको प्रतिबद्धता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले संयुक्त रूपमा राजावादीको हिंसात्मक गतिविधि नेपालको संविधान र लोकतन्त्रको विरोधमा लक्षित रहेको बताएका छन्। उनीहरूले भनेका छन्, लोकतान्त्रिक गणतन्त्रविरुद्ध अराजकता मच्चाउने तत्वहरूलाई कडा निगरानीमा राखेर कानुनी कारबाही गर्नुपर्छ। हिंसात्मक प्रदर्शनबाट नागरिकका जीवन, सम्पत्ति स्वतन्त्रतामाथि खेलबाड गर्न पाइँदैन।

मोर्चाले राजधानीका विभिन्न स्थानमा भएका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दलका कार्यालय, नागरिकका घर तथा सञ्चार गृहमा तोडफोड हुनु गम्भीर विषय भएको उल्लेख गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निवासमा समेत आक्रमण भएको भन्दै मोर्चाले सुरक्षा निकायको लापरबाहीप्रति प्रश्न उठाएको छ।

रास्वपाको आलोचना सरकारमाथि प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि हिंसात्मक गतिविधिको कडा आलोचना गरेको छ। आफ्ना प्रमुख सचेतक सन्तोष परियारको सरकारी गाडी बालकुमारीमा जलाइएकामा रास्वपाले आपत्ति जनाएको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपमा प्रस्तुत हुन आग्रह गर्दै भने, राजावादी आन्दोलन अराजक हुन सक्ने संकेत पहिल्यै देखिएको थियो। यस्ता घटनाबाट सरकारको सुरक्षा संयन्त्रको कमजोरी स्पष्ट देखिन्छ। सरकारले आम जनताको सम्पत्ति जोगाउने दायित्व पूरा गर्न सकेन। गृहमन्त्रीले जिम्मेवारी लिनुपर्छ।

सरकारको सुरक्षा संयन्त्रको कमजोरी

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकार सम्मेलन गर्दै घटनाका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्। उनले भने, पार्टी कार्यालयमाथि आक्रमण हुन सक्ने सूचना बिहानै प्रहरीलाई दिइएको थियो। तर, सुरक्षा प्रबन्ध नगरी प्रशासनले लापरबाही देखायो। यस्ता घटनामा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउन ढिला गर्नु हुँदैन।

भुसालका अनुसार, एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीहरूले ढोका, झ्याल तोडफोड गरेका थिए भने कागजात र फर्निचर जलाएका थिए।

शान्ति सुरक्षा मजबुत बनाउन माग

राजनीतिक दलहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले सरकारलाई नागरिकका जीवन र सम्पत्तिको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न तथा दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न अपिल गरेका छन्।

काठमाडौंका विभिन्न स्थानमा भएको हिंसात्मक घटनापछि सरकार, सुरक्षा निकाय तथा प्रशासनको भूमिकामाथि प्रश्न उठिरहेका छन्। राजनीतिक दलहरूले शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्दै हिंसात्मक गतिविधि रोक्न सरकारलाई कडाइका साथ प्रस्तुत हुन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *