१४ असोज, काठमाडौं — कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग भत्किएको छ।
महाकाली नदीमा आएको बाढीका कारण आज बिहान करिब ८ बजे पुलको एक भाग पूर्ण रूपमा भत्किएको हो।
प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको पुलको एउटा पिलर भत्किएपछि त्यससँगै पुलको भाग पनि नदीमा बगेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको भाग भत्किएको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले पुलमा पुगेको क्षतिको अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको जानकारी दिए।
उनले अनलाइनखबरसँग भने, ‘मैले पनि सिडिओ सा’बबाट झोलुङ्गे पुलमा पुगेको क्षतिबारे जानकारी पाएँ। जानकारी पाउनेबित्तिकै प्राविधिक टोली जाने तयारी भइरहेको छ। प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि मात्रै क्षति यकिन गर्न सकिन्छ।’
दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने उक्त झोलुङ्गे पुल २०६१ सालमा निर्माण सम्पन्न भएको थियो।
महाकाली अनलाइन डटकमका प्रबन्धक खडक रावलका अनुसार आज बिहान करिब ४–५ बजेतिर पुलबाट आवतजावत गर्ने स्थानीयले त्यसको एक भाग अस्वाभाविक रूपमा माथि उठेको देखेका थिए। स्थानीयले त्यसबारे प्रहरीलाई समेत जानकारी गराएका थिए।
तर, बिहान करिब ८ बजेतिर माथि उठेको पुलको उक्त भाग नदीमा खसेको रावलले बताए।
पुलको बीच भाग भत्किएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको आवतजावत बन्द भएको छ। अब स्थानीयले आवतजावतका लागि करिब दुई किलोमिटर माथि गएर पक्की पुल प्रयोग गर्नुपर्ने रावलले जानकारी दिए।



