१२ असोज, काठमाडौं — कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ।
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजनाले लगातार चार दिनसम्म परेको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि विद्युत् उत्पादन बन्द गरेको थियो।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन उत्पादन रोकिएको थियो। अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरी उत्पादन सुरु गर्न लागिएको उनले बताए।
बाढीपछि आयोजनाको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले अब विद्युत् उत्पादन सुरु गर्न सकिने पौडेलले जानकारी दिए।
कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो।
अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेणी बजारसमेत डुबानमा परेको छ। बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ।
त्यस्तै, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल पनि कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो।



