१४ असोज, काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको बताएका छन्। उनका अनुसार सरकारले कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ।
बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन्। छलफलमा सहभागी रास्वपा सांसद डा. राम लामाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ।’
छलफलका क्रममा रासायनिक मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले आवश्यक सहुलियत दिने तयारी गरेको विषयमा पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए।
वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेको छ। त्यसका लागि नीतिगत, कानुनी तथा भन्सारसम्बन्धी सुधार गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
यसअघि विभिन्न सरकारले बजेटमै रासायनिक मल कारखाना स्थापनाका लागि रकम विनियोजन गर्दै आए पनि कारखाना स्थापना हुन सकेको छैन। प्रधानमन्त्री शाहले पनि मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन्।
बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए। छलफलको सुरुवातमा सांसदहरूले बाढीपहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठाइने विषय, सांसदहरूको भूमिका र सरकारसँग गर्न सकिने समन्वयबारे आफ्नो धारणा राखेका थिए। साथै, औद्योगिकीकरणका लागि सरकारले गर्नुपर्ने कामबारे ठोस योजना तथा सुझाव दिन उनले सांसदहरूलाई आग्रह गरेका थिए। उक्त छलफलमा विकास आयोजना, कानुनी सुधार र विद्युत् खपत बढाउने विषयमा समेत कुराकानी भएको थियो।
नयाँ योजना वा नीतिसम्बन्धी कुनै सुझाव भए सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने पनि शाहले बताएका थिए। त्यस्ता प्रस्ताव लिएर आउने सांसद तथा अन्य व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासनसमेत उनले दिएका थिए।
प्रधानमन्त्रीले विद्युत् उत्पादन बढाउनुका साथै त्यसको खपत बढाउने विषयमा पनि सरकारको ध्यान रहेको जानकारी गराएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार प्रधानमन्त्री शाहको शैक्षिक पृष्ठभूमि सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङसँग सम्बन्धित छ।



