१३ जेठ, काठमाडौं — सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ। बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेकका सबै बीमा सेवा अस्थायी रूपमा स्थगित गरेको हो।
बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट उपलब्ध हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द रहनेछन्। यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो।
निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सयौं निजी अस्पताल र मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवामा असर पर्ने सम्भावना देखिएको छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।
बीमा बोर्डका अनुसार सेवाप्रदायक संस्थाहरूलाई हाल करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। लामो समयदेखि बक्यौता रकम नपाएको भन्दै निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
स्वास्थ्य क्षेत्रका जानकारहरूले कार्यक्रमको वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दीर्घकालीन स्थायित्वमा पर्याप्त ध्यान नदिँदा स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटतर्फ धकेलिएको टिप्पणी गरेका छन्। सरकारले सार्वभौमिक स्वास्थ्य पहुँचको लक्ष्यसहित सुरु गरेको कार्यक्रम अहिले आर्थिक दबाब र व्यवस्थापन चुनौतीका कारण कठिन अवस्थामा पुगेको भन्दै आलोचना भइरहेको छ।



