२७ कात्तिक, काठमाडौं — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूका आफन्तले शव बुझ्न मानेका छैनन्।
मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार यी माग पूरा नभएसम्म आफन्तहरूले शव उठाउन नमानेका हुन्।
उनले कानुनले तोकेबमोजिमको क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने जानकारी प्रशासनले पीडित परिवारलाई दिएको बताए। तर, पीडित पक्षले थप क्षतिपूर्तिको माग गरिरहेको उनको भनाइ छ।
बिहीबार बिहान मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस दुर्घटनामा परेको थियो। सडकबाट करिब ५०० मिटर तल खसेको उक्त माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
दुर्घटनाका समयमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेहरूको हेटौँडा, भरतपुर र काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका १४ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ। मृतकका आफन्तहरू पनि अस्पताल परिसरमै रहेका छन्।
चालकको लापरबाहीका कारण दुर्घटना भएको र राजनीतिक स्वार्थका कारण मृतकका परिवारलाई उक्साउने प्रयास भइरहेको हुन सक्ने आशंका मकवानपुर प्रशासनले गरेको छ।
बिहीबार सर्लाहीका स्थानीय नेता सञ्जय यादवले सरकारबाट क्षतिपूर्तिलगायतका माग राख्दै मृतक परिवारको पक्षबाट नेतृत्व गरेका थिए। प्रशासनका अनुसार बिहीबार नै शवको पोस्टमार्टम गर्ने प्रयास गर्दा पनि मृतकका परिवारले सहमति जनाएका थिएनन्।
प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनबमोजिम पाउनुपर्ने क्षतिपूर्ति नलिएमा शवको पोस्टमार्टम गरी कानुनअनुसार शव व्यवस्थापन गर्ने बताएका छन्।



