३ मंसिर, काठमाडौं — पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश फर्किने घोषणा गरेपछि देशमा राजनीतिक तनाव बढेको छ।
प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र त्यसपछि राजधानी ढाकासहित विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन्। यी घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्लो दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी भएको छ।
त्यस्तै, चटगाउँस्थित मोहम्मद युनुसको पैतृक घरमा पनि अज्ञात समूहले आगो लगाएको छ।
ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार सार्वजनिक भएको छ।
२८ जिल्लामा बम विस्फोट, हिंसामा मानवीय क्षति
बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन्। विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ।
हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन्। पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि आक्रमण गर्दा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा उल्लेख छ।
त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ।
शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव
अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताबाट हटेकी हसिना अहिले भारतमा बस्दै आएकी छन्।
यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन्। त्यसपछि देशमा राजनीतिक तनाव थप बढ्दै गएको छ।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए। प्रदर्शनकारीले घेराउ गरेपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो।
बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ भन्दै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
मंगलबार राति संसदमा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनाअनुसार पुनः एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए।
द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन्।
सुरक्षा व्यवस्था कडा, ढाकाबाट ५६५ जना पक्राउ
बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन्।
गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन्।
सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा पनि तोडफोड र विध्वंसका घटना भएका थिए।
पछिल्ला हिंसात्मक घटनाले बंगलादेशमा राजनीतिक अस्थिरता पुनः बढेको देखाएको छ।



