६ मंसिर, काठमाडौं — नेकपा एमालेले सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी लेखिएका टिप्पणी तथा गालीगलौज सार्वजनिक गर्न ‘अपरेसन ऐना’ अभियान सुरु गरेको छ।
यस अभियानअन्तर्गत पार्टीका नेताहरूविरुद्ध अपमानजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति लेख्ने प्रयोगकर्ताका पोस्टसँगै उनीहरूका तस्बिरसमेत एमालेले सार्वजनिक गर्न थालेको छ।
पार्टीका अनुसार एमालेविरुद्ध भ्रम फैलाउने, योजनाबद्ध रूपमा दुष्प्रचार गर्ने र सामाजिक असहिष्णुता बढाउने गतिविधि देखिएपछि त्यसको प्रतिवादस्वरूप यो अभियान सञ्चालन गरिएको हो।
‘अपरेसन ऐना’मार्फत सामाजिक सञ्जालमा पार्टी र नेताहरूलाई लक्षित गरी गरिने टिप्पणी तथा अभिव्यक्तिमाथि निगरानी भइरहेको सन्देशसमेत एमालेले दिएको छ।



