११ असार, काठमाडौं — दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियामाथि १–० को जित दर्ता गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे। उनले खेलको ६३औं मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो।
यो दक्षिण अफ्रिकाको चौथो विश्वकप सहभागिता हो। यसअघि सन् १९९८, २००२ र २०१० को विश्वकप खेले पनि टोलीले समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने पहिलोपटक नकआउट चरणमा पुग्न सफल भएको छ।
दक्षिण अफ्रिकाले तीन खेलबाट चार अंक जोड्दै समूह उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको हो।
सहआयोजक मेक्सिकोले तीनै खेल जित्दै ९ अंकसहित समूह विजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
समूहमा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको तीन अंक छ। तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीमध्ये पर्न सके दक्षिण कोरिया पनि नकआउट चरणमा पुग्न सक्ने सम्भावना कायम छ। त्यसका लागि भने अन्य समूहका नतिजामा भर पर्नुपर्नेछ।
तीन खेलबाट एक अंक मात्र जोडेको चेक रिपब्लिक भने प्रतियोगिताबाट बाहिरिएको छ।a



