महाधिवेशनमार्फत संगठन विस्तार र नयाँ रणनीति तय गर्दै रास्वपा

काठमाडौं, असार ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनमा देशभर तथा विदेशस्थित सम्पर्क समितिबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

पार्टीका अनुसार महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। उद्घाटन समारोहका लागि आवश्यक व्यवस्थापन, प्रतिनिधिको आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत तयारी पूरा भएको रास्वपाले जनाएको छ।

प्रवक्ता मनिष झाले महाधिवेशनका लागि जिल्ला, प्रदेश र विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गर्न तयार पारिएको छ।

१५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

महाधिवेशनको प्रमुख एजेन्डामध्ये पार्टी विधान संशोधन पनि रहेको छ। सचिवालयले हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव तयार गरेको छ। प्रदेश सभापतिहरूलाई पदेन सदस्यका रूपमा समेट्ने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।

संशोधित विधानअनुसार पदाधिकारी तहमा महिला सहभागिता अनिवार्य बनाइनेछ। एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (कम्तीमा एक महिला), दुई महामन्त्री, पाँच सहमहामन्त्री (कम्तीमा एक महिला), एक प्रवक्ता, तीन सहप्रवक्ता (कम्तीमा एक महिला), एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष (कम्तीमा एक महिला) रहने व्यवस्था प्रस्ताव गरिएको छ।

५१ केन्द्रीय सदस्य सभापतिबाट मनोनयन

प्रस्तावित विधानले १५१ केन्द्रीय सदस्यमध्ये ५१ जनालाई पार्टी सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ। बाँकी ९९ सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्। मनोनयन गर्दा समावेशी प्रतिनिधित्वलाई आधार बनाइने तथा प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।

पार्टी नेतृत्वले बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राख्दै एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताको मनोनयनसम्बन्धी व्यवस्थामाथि पनि छलफल गरिरहेको जनाएको छ।

भावी रणनीति र संगठन विस्तारमा जोड

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक रणनीति, संगठन सुदृढीकरण तथा विधान संशोधनलाई टुंगो लगाउने अपेक्षा गरिएको छ। नीतिगत प्रस्ताव र समसामयिक राजनीतिक विषयमा पनि व्यापक छलफल हुने रास्वपाको भनाइ छ।

पार्टीले स्थानीय तहसम्म संगठन विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रवक्ता झाले टोल तहसम्म संगठन विस्तार गर्ने व्यवस्था विधानमै समेटिएको र पार्टीले भ्रातृ संगठन नबनाउने नीति कायम राख्ने बताए।

चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता

रास्वपाका अनुसार महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि प्रत्यक्ष सहभागी हुनेछन् भने थप ३०० प्रतिनिधि मनोनयनमार्फत सहभागी गराइनेछ। यससँगै महाधिवेशनमा कुल चार हजार २११ प्रतिनिधिको सहभागिता रहनेछ।

पार्टीले हाल सदस्य संख्या पाँच लाख पुगेको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकासहित चार हजार ६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै, ६ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट सम्पन्न भएको छ भने मधेश प्रदेश र अधिवेशन हुन बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

मुनोजको निर्णायक गोलमा कोलम्बिया अन्तिम १६ मा

काठमाडौं, असार १० — ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कं...
नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

नर्वेका लागि गोल गर्दा छुट्टै गर्व महसुस हुन्छ : हाल्यान्ड

काठमाडौं, असार ९ — नर्वेका स्टार फरवार्ड एर्लिङ हाल्यान्डले विश्वकपमा देशको प्रतिनिधित्व गर्दै गोल गर्न पाउनु आफ्नो करिअरकै विशेष ...
९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

९२ वर्षको प्रतीक्षापछि विश्वकपमा इजिप्टको ऐतिहासिक पहिलो जित

काठमाडौं, असार ८ — विश्वकप फुटबलमा इजिप्टले आफ्नो इतिहासकै पहिलो जित दर्ता गरेको छ। सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ...
बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

बन्द सत्र ढिलाइ हुँदा रास्वपा महाधिवेशनको अवधि बढ्ने संकेत

काठमाडौं, असार ८ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ। बन्द स...