११ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ।
९९ जना केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतपरिणाम भने अझै सार्वजनिक भएको छैन। निर्वाचन विद्युतीय मेसिनमार्फत गरिएको थियो, जसमा २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका छन्।
रास्वपाले महाधिवेशनमा सहभागी प्रतिनिधिको आधिकारिक संख्या सार्वजनिक नगरे पनि पार्टी नेताहरूका अनुसार महाधिवेशनमा ४ हजार ३११ प्रतिनिधि रहेका थिए। यही संख्या आधार मान्दा पहिलो चरणको निर्वाचनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधिले मतदान नगरेको देखिन्छ।
उनीहरू किन मतदानमा सहभागी भएनन् भन्ने स्पष्ट नभए पनि नेताहरूका अनुसार मतदान प्रक्रिया ढिलो हुँदा धेरै प्रतिनिधि घर फर्किन थालेका थिए।
पार्टी प्रवक्ता मनिष झाले बुधबार पत्रकारहरूसँग कुरा गर्दै केही प्रतिनिधि फर्किएको चर्चा भए पनि करिब तीन हजार प्रतिनिधिको सहभागिता सन्तोषजनक रहेको बताए।
उनका अनुसार सभापति रवि लामिछानेले दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी निर्वाचन आयोगलाई निर्देशन दिइसकेका छन्। सोहीअनुसार बुधबार अपराह्न ४ बजेदेखि दोस्रो चरणको मतदान गर्ने तयारी गरिएको छ।
दोस्रो चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। यी पदमा कसले उम्मेदवारी दिने भन्ने विषय भने अन्तिम टुंगो लागिसकेको छैन।
यी पदका लागि पनि महाधिवेशन प्रतिनिधिहरूले नै मतदान गर्नुपर्ने भएकाले नेताहरू हरि ढकाल, सोबिता गौतम, शिशिर खनाल र डा. तोसिमा कार्कीलगायतले प्रतिनिधिहरूलाई दोस्रो चरणको मतदानमा सहभागी भएर मात्र घर फर्किन आग्रह गरेका छन्।
महाधिवेशनको व्यवस्थापनलाई लिएर पार्टीभित्रैबाट आलोचना भइरहेको छ। प्रतिनिधि र नेताहरूले व्यवस्थापकीय पक्ष कमजोर रहेको टिप्पणी गरेका छन्। प्रवक्ता झाले पनि व्यवस्थापनमा कमजोरी देखिएको स्वीकार गर्दै त्यसप्रति आफूहरू लज्जित रहेको बताए।
यसैबीच, केन्द्रीय सदस्य पदकी उम्मेदवार तथा सांसद टीका संग्रौला ज्वालाले विद्युतीय मतदान मेसिनमा आफ्नो पूरा नाम नदेखिएको भन्दै पार्टी निर्वाचन आयोगमा उजुरी दिएकी छन्। उनका अनुसार मतदान मेसिनमा ‘ज्वाला’ थर नदेखिएकाले प्रतिनिधिहरूबाट गुनासो आएपछि उजुरी दर्ता गरिएको हो।
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा गर्ने तय गरिएको थियो। तर महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया लम्बिँदा कार्यक्रम पनि निर्धारित समयभन्दा लम्बिएको हो।
महाधिवेशन प्रतिनिधिको टुंगो नलाग्दै सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका थिए।
पार्टीले प्रतिनिधिहरूका लागि खानाखाजाको व्यवस्था गरे पनि बसोबासको व्यवस्था नगरेको जनाइएको छ। प्रतिनिधिहरूले आफ्नै खर्चमा बस्ने व्यवस्था गर्नुपरेको र महाधिवेशन लम्बिँदै जाँदा केही प्रतिनिधि घर फर्किएका छन्।
सिन्धुपाल्चोकका एक प्रतिनिधिले तीन दिनका लागि सहभागी हुन आएको महाधिवेशन पाँच दिनसम्म लम्बिएपछि घर फर्किन लागेको बताए। उनले केन्द्रीय सदस्यका लागि मतदान गरिसकेको र सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।
महाधिवेशन लम्बिएका कारण पदाधिकारी चयनका लागि हुने दोस्रो चरणको निर्वाचनमा केन्द्रीय सदस्य निर्वाचनभन्दा कम मतदान हुने चिन्ता पार्टी नेताहरूमा देखिएको छ।



