१४ साउन, काठमाडौं — प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
बैठक आज बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे छलफल हुने जनाइएको छ।
नेपालको संविधानको भाग २८ अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ। परिषद्को सदस्य सचिवको जिम्मेवारी रक्षा सचिवले निर्वाह गर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रणसम्बन्धी विषयमा नेपाल सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण तथा आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार, उपकरण तथा तिनका मापदण्डसम्बन्धी नीति निर्माण गर्ने जिम्मेवारी पाएको छ।
यसका साथै परिषद्ले राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने तथा ती विषयमा नेपाल सरकारलाई आवश्यक राय र सुझाव दिने कार्य पनि गर्छ।



