१७ साउन, काठमाडौं — पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य आरोहीहरूको शव आज क्याम्प–१ सम्म ल्याउने तयारी गरिएको छ।
उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा हिमपहिरोमा परी निधन भएका आरोहीहरूको शव क्याम्प–१ सम्म झारिनेछ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्याउने योजना रहेको छ।
टोलीका अनुसार मौसम र हिमालको अवस्था अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई थप सुरक्षित स्थानमा सारिनेछ।
उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने तयारी भइरहेको जनाएको छ।
ब्रड पिकमा गएको हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली पर्वतारोही थिए। पुर्जाको निधन भएको पुष्टि शनिबार मात्र भएको हो।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा गत बिहीबार (१४ साउन) मध्याह्नतिर हिमपहिरो गएको थियो। उक्त घटनामा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए। निर्मल पुर्जा उक्त आरोहण टोलीका नेता थिए।



