आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित 

१ असार, काठमाडौं – आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध  जित निकाल्नबाट नेपाल एक रनले चुकेको छ ।

शनिबार वेस्ट इन्डिजका सेन्ट भिन्सेन्टस्थित आर्नोस मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । नेपाल पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध जित नजिक पुगे पनि एक रनले निराश बनेपछि नतिजाबाट चुकेको हो ।

खेलको १७.२ ओभरमा ९९–३ को अवस्थाबाट १८.२ ओभरमा पुग्दा नेपालले ६ विकेट गुमाएपछि दबाब थपिएको थियो । १९औँ ओभरको चार बलसम्म एक विकेट गुमाए पनि नेपालले रन जोड्न सकेको थिएन । तर, पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गर्दै नेपालको दबाब कम गरेका थिए । सोही ओभरको अन्तिम बलमा दुई रन लिएपछि नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो ।

दक्षिण अफ्रिकाका कप्तान आइदेन मार्करमले २०औँ ओभर ओट्नेल बार्टमानलाई थमाएका थिए । बार्टमानले पहिलो दुई बल डट फ्याँके । तर, तेस्रो बलमा चौका प्रहार गर्दै गुल्सन झाले नेपालको जित सम्भावना कायम राखेका थिए । चौथो बलमा गुल्सनले दुई रन लिए । जितका लागि अन्तिम बलमा दुई रन हुँदा गुल्सनले बललाई ब्याटसँग कनेक्ट गराउन सकेनन् । एक रनका लागि दौडिए पनि ‘नन स्ट्राइक एन्ड’मा गुल्सनले ब्याट लाइनपार गराउन नसक्दा नेपाल एक रनले स्तब्ध बनेको हो ।

नेपालका लागि आसिफ सेखले ४२ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । १.५ ओभरमा एक रनमा खेलिरहँदा आसिफ सेख आउट हुनबाट बचेका थिए । कगिसो रबाडाले गरेको उक्त ओभरमा रबाडाले नै आसिफको क्याच छुटाएका थिए । आसिफले ३५–२ को अवस्थाबाट अनिल साहसँग ५० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

१३.४ ओभरमा आउट हुनुअघि अनिलले २४ बलमा तीन चौका र एक छक्कासहित २७ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर हो ।

कुशल भुर्तेलले १३ रन बनाए । यसबाहेक, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान ६ रन थपे । सोमपाल कामी आठ रनमा अविजित रहँदा कुशल मल्लले एक रन जोडे । कप्तान रोहितकुमार पौडल डक भएका थिए ।

दक्षिण अफ्रिकाका तबरेज साम्सीले चार विकेट लिए । चार ओभर बलिङ गरेका साम्सीले १९ रनमात्र खर्चिए । आइदेन मार्करमले एक विकेट लिए ।

त्यसअघि नेपालका स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रनमात्र बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीबाट ‘कट एन्ड बोल्ड’ हुनुअघि उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । ट्रिस्टान स्टुब्सले २७ रन बनाए । कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न नेपालबाट सात विकेट नै स्पिन बलरले लिए । नेपालका कुशल भुर्तेलले चार विकेट लिए । चार ओभर बलिङ गरेका भुर्तेलले १९ रनमात्र खर्चिए । दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले २१ रनमात्र खर्चिए ।

यसबाहेक, किफायति बलिङ गरेका सन्दीप लामिछानेले विकेट नलिए पनि चार ओभरमा १८ रनमात्र खर्चिए ।

जितसँगै दक्षिण अफ्रिका समूह ‘डी’बाट अपराजित रहँदै सुपर–८ मा प्रवेश गरेको छ । तीन खेलबाट एक अंक जोडेको नेपाल भने प्रतियोगिताको समूह चरणबाट बाहिरिने पक्का भएको छ । नेपाल तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

मधेसमा तनाव बढ्दै, सिरहामा अनिश्चितकालीन कर्फ्यु

१४ साउन, काठमाडौं — सिरहा जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउ...
सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

सुनसरी घटनाको विरोधमा विराटनगरमा नाराबाजी

१४ साउन, काठमाडौं — सुनसरीको देवानगञ्ज घटनाको विरोधमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। प्रदर्शनक...
‘सरकार मलमपट्टी गर्दैछ’ : रास्वपा सांसद न्यौपाने

‘सरकार मलमपट्टी गर्दैछ’ : रास्वपा सांसद न्यौपाने

१४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सुनसरी घटनाका विषयमा उठेका प्रश्नको जवाफ दिँद...
शान्ति–सुरक्षाबारे उच्चस्तरीय छलफल आज

शान्ति–सुरक्षाबारे उच्चस्तरीय छलफल आज

१४ साउन, काठमाडौं — प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। ...