१९ साउन, काठमाडौं — सरकारले रिक्त रहेका २० वटा राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने अन्तिम तयारी गरेको छ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्राप्त आवेदनहरूको अध्ययन भइरहेको छ। योग्य उम्मेदवार छनोट गरी आगामी सातासम्म नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ।
यसपटक पहिलो पटक खुला आवेदन प्रक्रियामार्फत राजदूत नियुक्तिको सिफारिस गर्न लागिएको हो। यसका लागि तीन हजारभन्दा बढी आवेदन परेका छन्।
हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत र स्पेन गरी १६ देशमा नेपाली राजदूतको पद रिक्त छ।
त्यस्तै, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र संयुक्त राष्ट्रसंघीय नियोग भियनामा कार्यकाल सकिएपछि म्याद थप गरेर राजदूतहरूले जिम्मेवारी सम्हालिरहेका छन्। यीसहित कुल २० वटा नियोगमा नयाँ राजदूत नियुक्त गर्नुपर्ने अवस्था रहेको छ।
नेपालका हाल २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि ३ वटा स्थायी नियोग तथा ८ वटा महावाणिज्य दूतावास गरी कुल ३९ वटा कूटनीतिक नियोग रहेका छन्।
सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली राजदूतावास बन्द गर्ने निर्णय गरेको छ।
हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्र नेपाली राजदूत कार्यरत छन्।
नेपालमा राजदूत नियुक्ति राजनीतिक र कूटनीतिक सेवाका (करिअर) दुवै क्षेत्रका व्यक्तिबाट गर्ने परम्परा रहेको छ। यसपटक पनि दुवै समूहबाट नियुक्ति गरिने तयारी रहेको जनाइएको छ।



