२१ मंसिर, काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएका अनियमितता तथा भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित उच्च अधिकारीहरूविरुद्ध मुद्दा चलाउने तयारी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग दायर गर्ने अन्तिम प्रक्रिया अघि बढाएको हो।
स्रोतका अनुसार सचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मा प्रतिवादीको सूचीमा छन्। यस्तै, सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री र सुरेश आचार्यसमेत मुद्दामा प्रतिवादी बनाउन लागिएको छ।
सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्यसचिव मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्यसमेत विपक्षी बनाइनेछन्।
पाँच पूर्वमन्त्री—भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी—लाई समेत यस मुद्दामा प्रतिवादी बनाइएको छ। साथै, रतिशचन्द्र लाल सुमन, तत्कालीन उपमहानिर्देशक सुमन कुमार श्रेष्ठ र उपसचिव हरिबहादुर खड्कासमेत अभियोगको दायरामा परेका छन्।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, निर्देशक तथा उपनिर्देशकस्तरका दर्जनौँ अधिकारी—जसमध्ये नारायण गिरी, महेश कुमार बस्नेत, बाबुराम पौडेल, अशोक कुमार सुवेदी, मुरारी भण्डारी र सुवर्णराज उपाध्याय—लाई समेत प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार जम्मा ५६ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गर्ने तयारी पूरा गरिएको छ।



