१० वैशाख, काठमाडौं — संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरी बस्ती हटाउने प्रयास गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ।
बिहीबार दिउँसो शंखमूलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यस विषयमा छलफल गरिएको हो। मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीसम्बन्धी समाचार सार्वजनिक भएपछि उक्त बैठक आह्वान गरिएको थियो।
गुरुङका अनुसार बैठकमा प्रारम्भमा सरकारको निर्णय आधिकारिक हो वा होइन भन्ने विषयमा छलफल भएको थियो। उनले भने, “यदि उक्त निर्णय आधिकारिक भएको पुष्टि भई बल प्रयोग गरेर बस्ती हटाउने प्रयास गरिएमा हामी प्रतिरक्षाका लागि आवश्यक कदम चाल्न तयार छौँ र त्यसको प्रतिरोध गर्नेछौँ।”
यसैबीच, प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएको बताइएको छ।



