२८ वैशाख, काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीति नै छाड्न तयार रहेको बताएका हुन् ।
खरेलले आफूलाई जोडेर प्रकाशित समाचारहरू भ्रामक, आधारहीन र नियोजित भएको दाबी गरे । उनले आफ्नो र पार्टीको छवि बिगार्ने उद्देश्यले यस्ता समाचार फैलाइएको आरोप लगाए ।
उनले सञ्चारमन्त्री रहँदा स्मार्ट टेलिकमका प्रतिनिधिसँग एक पटक पनि बैठक नगरेको स्पष्ट पारे ।
‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर स्विजरल्याण्ड भागेको भन्ने समाचार अत्यन्तै निरर्थक र घटिया छ,’ उनले संसद्मा भने ।
समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै संसद्को सम्मानमा समेत चोट पुर्याएको उनको भनाइ थियो । उनले उक्त विषय संसद्को अभिलेखमा राख्न चाहेको पनि बताए ।
खरेलले चुनौती दिँदै स्मार्ट टेलिकम प्रकरणमा आफूले एउटा बैठक वा एउटा फाइलमा मात्रै गलत काम गरेको प्रमाणित भए सम्पूर्ण राजनीतिक जीवनबाट सधैंका लागि अलग हुने घोषणा गरे ।
उनले गलत मनसायका साथ आफ्नो प्रतिष्ठामा आँच पुर्याउने गरी समाचार प्रकाशित गरिएको भन्दै त्यसको कडा विरोध जनाएका छन् । साथै, उनले प्रेस काउन्सिललाई तत्काल आवश्यक कारबाही अघि बढाउन आग्रह गरेका छन् ।



