१६ वैशाख, काठमाडौं — अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि बढेको अन्तर्राष्ट्रिय तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च पुगेको छ। हालको तथ्यांकअनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९.७६ डलर पुगेको छ, जुन सन् २०२२ को जुनपछि सबैभन्दा बढी हो।
यसअघि रुस–युक्रेन युद्धका बेला सन् २०२२ को सुरुवाततिर तेलको मूल्य झण्डै १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मूल्य बढ्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण मानिएको छ। उनले इरानका बन्दरगाहमा सैन्य नाकाबन्दी कायम राख्ने बताएका छन् र इरानले परमाणु कार्यक्रमसम्बन्धी सम्झौता नगरेसम्म यो नाकाबन्दी जारी रहने संकेत दिएका छन्।
यसको प्रभाव स्ट्रेट अफ होर्मुज क्षेत्रमा देखिएको छ, जुन विश्वभर तेल ढुवानी हुने अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। यो क्षेत्र इरानको नियन्त्रणमा रहेकाले यहाँ अमेरिका र इरानबीच समय–समयमा तनाव र आक्रमणका घटना हुँदै आएका छन्।
सुरक्षाको जोखिम बढेपछि सयौं तेल ट्यांकर र जहाजहरू बीचमै रोकिएका छन्। यसको कारण विश्वभर तेल र ग्यासको आपूर्तिमा असर परेको छ र महँगी बढ्दै गएको छ।
तनाव कम गर्ने उद्देश्यले अमेरिका र इरानका प्रतिनिधिबीच पाकिस्तानमा वार्ताको पहल भइरहे पनि अहिलेसम्म ठोस परिणाम आउन सकेको छैन।



