२० साउन, काठमाडौं — सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
निर्णयअनुसार, तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको छ। साथै, पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्का निर्णयहरू यसप्रकार छन्–
१. तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने।
२. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याब काठमाडौँलाई नियुक्त गर्ने।
३. नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
४. पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने।
५. बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।
६. विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्राध्यापक डा. खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्राध्यापक डा. रोजेश श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने।
७. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने।



