२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनीतिक दलले सरकारलाई सही बाटोमा ल्याउने क्षमता राख्ने बताएका छन्।
नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार बोल्दै लामिछानेले सरकार आफ्नो बाटोबाट बाहिरिए पुनः सही दिशामा ल्याउने बताए।
उनले भने, ‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ। बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ।’
लामिछानेले सरकारको यात्रामा कहिलेकाहीँ राजनीतिक उतारचढाव आउन सक्ने भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए।
जहाज बादलभित्र प्रवेश गर्दा केही समय टर्बुलेन्स महसुस भएजस्तै राजनीतिमा पनि कहिलेकाहीँ समस्या वा असहज परिस्थिति आउन सक्ने उनको भनाइ थियो।
उनले भने, ‘कहिलेकाहीँ केही गडबड भयो कि, केही बिग्रियो कि, अलिकति राजनीतिक रूपमा अप्ठ्यारो पर्यो कि, झगडा पो पर्यो कि भन्ने हल्ला आउँछ। त्यो हल्लालाई तपाईंहरूले “स्याक्स” को रूपमा ग्रहण गर्नुहोला। त्योभन्दा बढी भ्यालु केही छैन।’
सरकार आफ्नो लक्ष्यबाट बाहिरिए पुनः सही बाटोमा ल्याएर यात्रालाई सहज बनाउनेतर्फ अघि बढ्ने उनले बताए।
उनले भने, ‘लिकबाट बाहिर गयो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। मैले पहिला नै भनेजस्तो अलिकति टर्बुलेन्स आइरहन्छन्। बाटोमा कहिलेकाहीँ बादलको टुक्रामा जहाज छिर्दा हल्लिन्छ। तर जहाज हल्लियो भन्दैमा दुर्घटनामा पर्ने भयो कि, खसिने भयो कि भनेर डर मान्नु पर्दैन।’
लामिछानेले प्रतिपक्षी दलहरूले अहिले जनतालाई अनावश्यक रूपमा त्रसित बनाइरहेको पनि बताए।
उनले भने, ‘प्रतिपक्षी दलहरूले “यस्तो ताल छ” भनेर तपाईंहरूलाई अत्याउन सक्छन्।’
राजनीति सधैं गरिरहने उद्देश्य आफूहरूको नरहेको भन्दै उनले आफ्नो कार्यकालमा इमानदारीपूर्वक काम गर्ने बताए।
उनले भने, ‘राजनीति सधैंभरि गरौँला, पुस्तौँ पुस्तासम्म गरौँला र जीवनभरि राजनीति गरौँला भन्ने कोही पनि छैन। हामी आफ्नो पालामा, आफ्नो अवधिभर इमान्दारिताका साथ काम गर्छौँ। जग खन्ने बेला भएकाले स्ट्रक्चर आउन गाह्रो छ। आत्तिनुपर्ने, तर्सनुपर्ने केही छैन।’
लामिछानेले प्रधानमन्त्री बालेन शाहको नाम नलिई सरकारमा रहेका व्यक्तिहरूले एकअर्कासँग मात्र नभई इतिहास र भावी पुस्तासँग वाचा गरेको टिप्पणी गरे।
उनले भने, ‘हामीले एक मान्छेले अर्को मान्छेलाई वाचा गरेको होइन। हामीले एकले अर्कालाई होइन, इतिहासलाई, आउने पुस्तासँग वाचा गरेको हो। आफ्नो वाचा, आफ्नो प्रतिबद्धताबाट पछि हट्ने वा भाग्ने छुट हामी कसैलाई पनि छैन।’
लामिछानेले सरकारलाई तोकिएको लक्ष्यबाट बाहिर जान नदिने पनि बताए। उनका अनुसार सरकार अहिले पनि आफ्नो लक्ष्यभन्दा बाहिर गएको छैन।



