
१२ माघ, काठमाण्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन् ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन् ।
शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि कुटपिट भएको मोक्तानले बताएका थिए ।



