५ साउन, काठमाडौं – एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको र कांग्रेस – एमाले दुवै राजनीतिक दल मिलेर माओवादीलाई घुस खान सिकाएको उनले बताए ।
‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके, त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ,’ भुसालले भने, ‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ, हामीले आफू जस्तै बनायौँ ।’
राजनीतिक दलका नेताहरूले नसिक्नुपर्ने कुरा बढी सिक्दा समस्या आएको भुसालको भनाइ थियो । ‘यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ । जनताको बहुदलीय जनवाद भन्यौँ, काम राज्य दोहनकै गर्यौं,’ उनले भने ।



