८ साउन, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली जोडिदिने भएको छ ।
विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको हो ।
‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने,’ प्राधिकरणको निर्णयमा भनिएको छ, ‘लाइन काटिएका ६(छ) वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।’
प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यको असहमतिका बाबजुद बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको हो । सञ्चालकद्धय कपिल आचार्य र भक्तबहादुर पुन बक्यौता नउठाई लाइन जोड्ने नहुने अडानमा छन् ।
मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा बिजुली काटिएकाले बक्यौता असुल नगरी फेरि लाइन जोड्न नहुने भन्दै ती सञ्चालकद्वयले असहमति जनाएका हुन् ।



