१७ चैत, काठमाडौँ — नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)बाट सुरू हुँदैछ।
पार्टीका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सहभागितामा बैठक बस्न लागेको हो।
धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे सुरु हुने यो दुई दिने बैठकका लागि संस्थापनइतर समूहले तीन वटा मुख्य एजेन्डा तय गरेको छ। बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम, १५औं महाधिवेशनको कार्यतालिका, साथै महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल गरिनेछ।
१७ चैतमा बस्ने यस बैठकमा केन्द्रीय सदस्यहरूको उपस्थिति रहनेछ भने नेताहरू बैठक स्थलमा आउनेक्रम जारी रहेको जनाइएको छ।
निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार पनि यही तीन एजेन्डामा केन्द्रित भएर छलफल हुनेछ। यसअघि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुनुअघि संस्थापन समूहले आगामी वैशाख अन्त्यतिर १५औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो।
त्यस्तै, तत्कालीन कार्यवाहक सभापति खड्काको अध्यक्षतामा १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ देखि ३१ वैशाखसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।
यसैबीच, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी पनि खड्काले गरेका छन्।




