१४ वैशाख, काठमाडौं — नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ भने दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आजको बैठकको मुख्य उद्देश्य दलको नेता छनोट गर्नु हो। लामो समयदेखि सहमतिको प्रयास भइरहे पनि अहिलेसम्म नेता चयन हुन सकेको छैन।
यसअघि नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको भए पनि गत शुक्रबार अन्तिम समयमा प्रक्रिया स्थगित गरिएको थियो। अब भने सभापति गगनकुमार थापाले कार्यसम्पादन समिति बैठकमा नै दलको नेताको नाम घोषणा गर्ने तयारी गरिएको छ।
सभापतिले घोषणा गरेको नामलाई पछि संसदीय दलको बैठकबाट अनुमोदन गराउने योजना कांग्रेसको छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलो पटक सर्वसम्मत रूपमा दलको नेता चयन गर्न लागेको बताइएको छ।
सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले पनि सभापतिले घोषणा गर्ने नामलाई प्रक्रिया पूरा गरेर टुंगो लगाइने बताएका छन्। महामन्त्री गुरूराज घिमिरेका अनुसार वर्तमान परिस्थिति, देश र पार्टीको अवस्थालाई ध्यानमा राख्दै निर्णय गरिनेछ।
सभापतिले प्रस्ताव गरेको नामलाई निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने तयारी छ।
तर, सभापतिबाट सीधै नाम घोषणा गरेर नेता चयन गर्न खोजिएको भन्दै संस्थापनइतर समूहले असन्तुष्टि जनाएको छ। उक्त समूहले दलको विधानअनुसार संसदीय दलका सदस्यहरूले नै सहमति वा प्रतिस्पर्धामार्फत स्वतन्त्र रूपमा नेता चयन गर्न पाउनुपर्ने धारणा राखेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो प्रक्रिया पार्टीका लागि हितकर नहुने बताएका छन्। उनले दलको नेता चयनमा भएको ढिलाइ र अन्योलले पार्टीको छविमा नकारात्मक असर परेको भन्दै छिट्टै प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।



