१७ चैत, काठमाडौं — संघीय संसद्को अधिवेशन आह्वान भएपछि संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाइएपछि आवश्यक तयारीका लागि सबै राजनीतिक दलसँग छलफल गर्न बैठक आयोजना गरिएको हो।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय गरिएको छ। उक्त बैठकले सभामुख चयन प्रक्रिया अगाडि बढाउनेछ। साथै, दलहरूबीच सहमति भएमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावना पनि रहेको छ।
यसअघि तयारीस्वरूप बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा सर्वदलीय बैठक बस्नेछ, जहाँ विभिन्न दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।
नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् भने एक स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलको रूपमा उभिएको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्। श्रम संस्कृति पार्टी भने पहिलो पटक संसद्मा प्रवेश गर्दै पाँचौँ स्थानमा पुगेको छ।



