२० चैत, काठमाडौं — डीपी अर्याल सभामुख पदमा निर्विरोध भएका छन्, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ।
सभामुखका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो, जसमा अर्यालको मात्र उम्मेदवारी परेको हो।
प्रतिनिधिसभा नियमावलीअनुसार एक जना मात्रै उम्मेदवार भएमा सदनमा प्रस्ताव प्रस्तुत भएपछि सभामुख निर्विरोध चयन भएको घोषणा गरिने व्यवस्था छ। यो घोषणा अब बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ, जुन आगामी आइतबारका लागि तय गरिएको छ।
प्रतिनिधिसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत भएकाले अन्य दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका छैनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाल कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन्।
सभामुख चयन भइसकेपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ, जसको मिति र समय सभामुखले तोक्ने व्यवस्था छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सामान्यतया सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ, तर एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था रहेको छ।
हाल उपसभामुखबारे दलहरूबीच ठोस छलफल भएको छैन। प्रतिनिधिसभामा ६ वटा दलको उपस्थिति छ।निर्वाचनपछि सभामुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ भने उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष शपथ लिनेछन्।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुखमा कुन दलको प्रतिनिधित्व हुन्छ भन्ने विषयलाई विशेष चासोका साथ हेरिएको छ। नेपालको संविधानअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ, जसलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि नियुक्ति हुने गर्छ।



