११ वैशाख, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सुकुमवासीको नाममा सार्वजनिक ठाउँ ओगटेर बस्ने र आफूलाई गरिब भनेर अनैतिक काम गर्नेहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताएका छन्।
काठमाडौंका सुकुमवासी बस्ती हटाउने सरकारी तयारीबारे बोल्दै उनले आश्रय लिने र अवैध रूपमा ठाउँ कब्जा गर्नेबीच फरक छुट्याउन आवश्यक रहेको बताए। उनका अनुसार, सरकारले सुकुमवासीका लागि वैकल्पिक र व्यवस्थित बसोबासको व्यवस्था गरिरहेको छ।
झाले भने, “यदि कोही साँच्चिकै सुकुमवासी हुन् र समस्या भोगिरहेका छन् भने उनीहरूप्रति सहानुभूति देखाउनु मात्रै होइन, सरकारको दायित्व नै उनीहरूको संरक्षण गर्नु हो।”
उनले सुकुमवासीहरूको पहिचान (सूचीकरण) गरी व्यवस्थित रूपमा व्यवस्थापन गर्दै संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, अवैध रूपमा जग्गा ओगटेर अन्य गलत गतिविधि गर्नेहरूलाई भने कडाइका साथ कारबाही गर्नुपर्ने उनको भनाइ छ।
सरकारले काठमाडौं महानगरपालिकासँग समन्वय गरी भोलि बिहानदेखि विभिन्न सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ। यसका लागि त्यहाँ बसोबास गरिरहेका मानिसहरूलाई ठाउँ खाली गर्न माइकिङमार्फत जानकारी दिइएको छ।



