२९ वैशाख, काठमाडौं — नारायणगढ–मुग्लिन सडक भएर काठमाडौं वा पोखरा यात्रा गर्नेहरूका लागि मुग्लिन नजिकको तुइनखोला पहिरो वर्षायाममा ठूलो समस्या बन्दै आएको छ । पछिल्ला दुई–तीन वर्षदेखि बर्खामा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने र यात्रुहरूले सास्ती भोग्ने गरेका छन् ।
सुक्खा मौसममा पहिरो कम खस्ने भएकाले नियन्त्रणको काम पनि सुस्त हुने गरेको छ । तर लगातार वर्षा सुरु भएपछि तुइनखोलाको पहिरोले सडक बन्द गराउने समस्या दोहोरिने गरेको छ ।
यस वर्ष पनि पहिरो खस्न थालेपछि मात्रै पहिरो नियन्त्रणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ । वैशाख २० गते बिहान सुक्खा पहिरो खसेपछि सडकमा केही समय एकतर्फी मात्रै सवारी सञ्चालन गरिएको थियो । त्यसैगरी वैशाख २४ गते पनि पहिरोका कारण सडक केहीबेर अवरुद्ध बनेको थियो ।
उक्त दिन तुइनखोलाबाट खसेको ढुंगा गुडिरहेको कारको इन्धन ट्यांकीमा लाग्दा कारमा आगलागी भएको थियो । आगो तत्काल नियन्त्रणमा लिएकाले मानवीय क्षति नभएको चितवन प्रहरीले जनाएको छ ।
त्यसको भोलिपल्ट वैशाख २५ गते बिहान फेरि पहिरो खस्दा सडक दुवैतर्फ बन्द भयो । सोही दिन भरतपुरस्थित डिभिजन सडक कार्यालयले तुइनखोला र नजिकैको नाम्सी खोलामा पहिरो नियन्त्रणका लागि टेन्डर आह्वान गरेको हो ।
डिभिजन सडक कार्यालयका अनुसार तत्काल तुइनखोला र नाम्सी खोलाको मुग्लिनतर्फको भागमा काम सुरु गर्ने तयारी गरिएको छ । नाम्सी खोलाको भरतपुरतर्फ र कालीखोलामा पनि छिट्टै टेन्डर निकालिने बताइएको छ । यी चार स्थानमा पहिरो नियन्त्रणका लागि करिब ४३ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
तुइनखोलामा करिब १०५ मिटर माथिबाट ढुंगा र पहिरो झर्ने गरेको छ । माथिबाट खस्ने साना ढुंगासमेत तल गुडिरहेका सवारीसाधनका लागि ठूलो जोखिम बन्ने गरेका छन् । बेलाबेला ठूलो पहिरो खस्दा सडक घण्टौं बन्द हुने र यात्रुहरूले सास्ती खेप्ने अवस्था रहेको छ ।
डिभिजन सडक कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार टेन्डर प्रक्रिया पूरा गरी निर्माण कम्पनीसँग असार १५ गतेतिर मात्रै सम्झौता हुनसक्नेछ । मनसुन सुरु हुने भएकाले वर्षाको समयमा काम गर्न सहज हुन्छ वा हुँदैन भन्ने अहिले नै निश्चित नभएको उनले बताए ।
पहिरो रोकथामका लागि रक एंकरिङ र रक नेटिङ प्रविधि प्रयोग गरिनेछ । इन्जिनियर अर्जुन घिमिरेका अनुसार कमजोर चट्टानलाई बलियो रडमार्फत भित्रसम्म मजबुत बनाइनेछ, जसले थप पहिरो खस्नबाट रोक्नेछ । साथै साना ढुंगा झर्न नदिन विशेष प्रकारका जाली प्रयोग गरिनेछन् । केही जालीमा बिरुवा समेत रोपिने योजना छ, जसले भविष्यमा पहिरो नियन्त्रणमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।
नारायणगढ–मुग्लिन सडक दैनिक १२ हजारभन्दा बढी सवारी चल्ने देशकै अत्यन्त व्यस्त सडक मानिन्छ । यही सडकले काठमाडौं र पोखरालाई पूर्व तथा पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको काम गर्दै आएको छ ।
लगातार पहिरो खस्दा तुइनखोला क्षेत्रको पहाड नांगो बन्दै गएको छ । करिब १६५ मिटर लामो पहिरो क्षेत्र वर्षायाममा अझ बढी जोखिमपूर्ण बन्ने गरेको छ ।



