२ साउन, काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार, २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा जानेको संख्या ३.८९ प्रतिशतले घटेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ३० हजार २५ जनाले कम देखिएको छ । यो संख्या आव २०७९/८० को तुलनामा थोरैले कम हो ।
पछिल्लो महिना असारमा मात्र ५८ हजार ७३६ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा प्रत्येक महिना औसतमा ६१ हजार ७७५ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारमिा गएको देखिन्छ । उक्त अवधिमा दैनिक औसतमा दुई हजार ३० जनाभन्दा बढीले रोजगारीको लागि देश छोडेका छन् ।
विभागको तथ्याङ्कअनुसार ०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कार्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८ चैतमा ७० हजार ९३३, २०८१ वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ८६१ र असारमा ५८ हजार ७३६ जना नेपालीले श्रम स्वीकृति लिएको देखिन्छ ।
गत आर्थिक वर्ष २०७९/८० मा कुल सात लाख ७१ हजार ३२७ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । तीमध्ये ६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ जना महिला छन् ।



